शीतयुद्धको जस्तो कूटनीति अपनाएर रुसले शान्तिलाई खतरामा पार्यो : जर्मनी
काठमाडौं । जर्मनीकी विदेशमन्त्री एन्नालेना बाएरबोकले शीतयुद्धको जस्तो कूटनीति अपनाएर रुसले शान्तिलाई खतरामा पारेको आरोप लगाएकी छन् । उनले मस्कोलाई युक्रेनका समस्या समाधानका लागि गम्भीर कदम चाल्न आह्वान पनि गरेकी छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्न आधार तयार गर्नै लागेको अभिव्यक्ति दिएपछि एन्नालेनाले यो प्रतिक्रिया दिएकी हुन् । बाइडेनले सैनिक कारबाही सुरु हुनेबेला आउनै लागेको चेतावनी दिँदै अझै कूटनीतिक समाधानको सम्भावना रहेकोमा जोड दिएका छन् ।
तर, रुसले यी दाबीहरू सबै निराधार रहेको र अमेरिकाले तनावलाई अझै उक्साउन खोजिरहेको आरोप लगाएको छ । मस्कोले आफूले युक्रेनको सीमाना नजिक सैनिक अभ्यास गरिरहेको र पछिल्ला केही दिनमा केही फौजलाई तिनीहरूका स्थायी अखडामा फर्काएको जानकारी दिएको छ ।
पश्चिमी शक्ति राष्ट्रहरूले भने रुसले सेना फर्काएको प्रमाण नभेटिएको जनाएका छन् । शुक्रबार रुसले ठूलो संख्यामा फौज र अत्याधुनिक हात हतियारसहित युक्रेनलाई बेलारुसलगायत तीनतिरबाट घेरा हालेको विषयमा चिन्ता प्रकट गर्ने एन्नालेना पछिल्लो वरिष्ठ पश्चिमी राजनीतिज्ञ हुन् ।
शुक्रबारदेखि म्युनिखमा सुरु हुन लागेको वार्षिक सुरक्षा सम्मेलनको सम्मुख निकालिएको विज्ञप्तिमा एन्नालेनाले रुसलाई चेतावनी दिँदै भनेकी छन्, ‘अप्रत्यासित रूपमा आफ्नो फौज तैनाथ गरेर र शितयुद्धकालीन मागहरू अघि सारेर रुसले युरोपेली शान्ति व्यवस्थाको मुलभूत सिद्धान्तहरूलाई चुनौति दिइरहेको छ ।’
उनको टिप्पणीले आफ्नो प्रभावमा रहेका देखिने मुलुकहरूमा पश्चिमी सैनिक शक्ति सीमित गराउने जस्ता युरोपेली सुरक्षालाई लिएर रुसले राखेका थुप्रै माग प्रति इंगित गरेको छ । बीबीसी