वकिलहरुले गुहारे दल, प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर हटाउन माग
काठमाडौं, ३ मंसिर । वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
शुक्रबार नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरु समक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न आग्रह गरेका हुन् । उनले प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालन भएको भन्दै न्यायाधीशहरुसँग गरेको सहमति पनि पालना नगर्नेतर्फ न्यायाधीशहरुलाई सचेत गराए ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरुलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गरे । उनले प्रत्येक दलका नेताहरुको प्रधानन्यायाधीशसँग लेनदेन भएको आरोप लगाए । नेताहरुको मुद्दा प्रधानन्यायाधीशले बार्गेनिङको रुपमा सर्वोच्चमा अड्काएको कारणले नेताहरु बोल्न नसकेका उनले बताए ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले बारको आन्दोलन दबाउन पदको दुरुपयोग गरिरहेको बताए । प्रधानन्यायाधीले जनताको लागि इजलाश चलाउन तयार नभएको तर दलाल, माफिया र तस्करहरुको सेवा गरिरहेको जिकिर गरे । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ ।