रसुवागढी नाकामा यार्ड निर्माण प्रक्रिया शुरु


२०७८ मङ्सिर १ बुधबार १८:२८ बजे

रसुवा, १ मंसिर । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा यार्ड निर्माण प्रक्रिया अगाडि बढाइएको छ । यार्डको अभावमा लामो समयदेखि आयातमा समस्या आएपछि निर्माण प्रक्रिया शुरु गरिएको हो । हाल रसुवागढी नाकाबाट चार किलोमिटर वर टिमुरेमा अस्थायी यार्ड सञ्चालनमा छ । टिमुरेमा नै ड्राइपोर्ट पनि निर्माण भइरहेको छ । तर नाकामा हालसम्म यार्ड सञ्चालनमा ल्याइएको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार आजदेखि प्राविधिकले स्टिमेटको काम शुरु गर्ने छन् ।

‘हामीले सम्बन्धित कार्यालयसँग समन्वय गरेर आजबाट काम अघि बढाउँदै छौं’, उनले भने, ‘रसुवागढीमा कम्तिमा पनि २० वटा कन्टेनर अट्ने यार्ड निर्माण हुन्छ ।’ स्टिमेट निर्माण भएपछि आवश्यक बजेटका लागि प्रक्रिया अघि बढाउने उनले बताए ।

आजदेखि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका प्राविधिकले स्टिमेट गर्नेछन् । नाकामा यार्ड निर्माण भएमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन् । कोरोना शुरु भएपछि चीनबाट हुने आयात घटेको छ ।

नाकाको नेपालतर्फ पूर्वाधारको विकास नभएकै कारण चिनियाँ पक्षले सामग्रीको आयात बढाएका छैनन् । ‘हामीले पूर्वाधारको विकास गर्न सकेको खण्डमा चिनियाँ पक्षले सामग्रीको आयात बढाउने छन्’, उनले भने, ‘यसले पछिसम्म फाइदा हुन्छ ।’ पछिल्लो समय चिनियाँ पक्षले दैनिक ९ वटा चिनियाँ गाडीमा सामग्री आयात गरिरहेका छन् ।

२०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । पछि एकतर्फी रूपमा नाका सञ्चालनमा आयो । तर पछिल्ला दिनमा नाकामा कारोबार निकै घटेको छ ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोरोनाका कारण निर्यात लामो समयदेखि ठप्प छ ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७