जङ्गली हात्तीकाे बथानले धानबाली र केरा बारीमा क्षति
कञ्चनपुर, १ कातिक । जङ्गली हात्तीका बथानले गए राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पुर्याएको छ ।
चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान खाएर क्षति पु–याएको हो । ‘दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं’, स्थानीय किसान राजकुमार चौधरीले भने, ‘हात्तीका बथानले पुरै धानका बाला खाएको छ । निकै नोक्सानी भयो ।’
उनका अनुसार खेतमा उत्पादन भएको धानले पुरै परिवारका लागि वर्षभर खान पुग्थ्यो । हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ । छ देखि नौको सङ्ख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पुर्याएको छ ।
यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसँगै मनोज बिष्टको केरा बारी, सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत क्षति पुर्याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
‘तरकारी बालीमा हात्तीको बथानले नोक्सानी गरेको खबर किसानले गरेका छन्’, उनले भने, ‘अनुगमनका लागि जाँदैछौं । के कति क्षति भयो अनुगमन पछि थाहा हुन्छ ।’ धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ ।