कर्णालीमा पाँच जिल्लामा आज दिनभर विद्युत नआउने
सुर्खेत, २६ असार । कर्णालीका पाँच जिल्लामा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ । आज बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिएका छन् । ‘कोहलपुर–सुर्खेत प्रसारण क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जसहित अधिकांश भागमा जंगल पर्छ, रुखका हाँगाबिंगाहरु काट्नका लागि दिनभर विद्युत अवरुद्ध गर्नुपरेको हो,’ प्रमुख गिरीले भने ।
उनका अनुसार बर्खायाममा आउने हावाहुरीबाट रुखका हाँगाहरु खसेर तारमा टाँगिने र पटक–पटक विद्युत अवरुद्ध हुन थालेपछि रुखका हाँगा काट्न गर्न थालिएको हो ।
कोहलपुर–सुर्खेत विद्युत प्रशारण बन्द हुँदा कर्णालीका सुर्खेतसहित दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यानको पश्चिम क्षेत्रमा विद्युत अवरुद्ध हुने कार्यालयले जनाएको छ ।