धनगढीको कोभिड अस्पतालमा चार कोरोना संक्रमितको गयो ज्यान
कैलाली, २१ बैसाख । कैलालीको धनगढीस्थित कोभिड अस्थायी अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको ज्यान गएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक–एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए ।
कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका–२ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।