दुई लाखले छाडे उपत्यका : आज पनि बसपार्कमा उस्तै भीड, टिकट पाउनै मुस्किल
काठमाडौं, १५ बैसाख । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आज (बुधबार) पनि काठमाडौं छाड्ने यात्रुहरुको उस्तै भीड देखिएको छ । भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरु नयाँ बसपार्क पुग्दा भीड बढेको हो । भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् ।
बुधबार पनि गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि जारी गरिएको निषेधाज्ञा लामो समयसम्म रहने आशंका सहित मानिसहरु घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको हो ।
घर जान आज बिहानैदेखि काठमाडौको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भिड लागेको छ । काठमाडौंमा भर्चुअल माध्यमबाट पठनपाठन शुरु भएको र सरकारले निषेधाज्ञा लगाउने निर्णय गरेपछि गाउँ घर फर्किनेको संख्या बढेको हो ।
भीड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् । लामो दूरीका सवारी साधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो । टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन् ।
सोमवारदेखि नै उपत्यका छाड्नेहरूको संख्या बढेको र यो संख्या आज झन् थेगिनसक्नु भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए । उनले निषेधाज्ञा लगाइहाल्ने निर्णय गरेकाले यात्रुहरूलाई सास्ती भएको गुनासो गरे । ‘यात्रुलाई घर फर्किन पुग्ने समय राखेर निषेधाज्ञाको मिति तोक्नुपथ्र्यो’, उनले भने, ‘व्यवस्थापन नगरि मिति तोकिदिँदा यात्रुले सास्ती पाएका छन् भने यात्रु लैजाने गाडीको समेत अभाव भएको छ ।’
घर जाने यात्रुको चाप बढेसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पनि ट्राफिक जाम बढेको छ । गाडी र मोटरसाइकलमा पेट्रोल–डिजल भर्नेको लाइनले भने सडकमा जाम बढेको छ । अहिलेसम्म दुई लाख बढी काठमाडौं उपत्यकाबाट बाहिरिएको जनाइएको छ ।