विराटनगर र वीरगञ्जमा चार कोरोना संक्रमितको मृत्यु


२०७८ बैशाख १५ बुधबार १०:४४ बजे

मोरङ, १५ बैसाख । मोरङको विराटनगर र वीरगञ्जमा गरी चार कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ ।
नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो ।

अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए । उनमा मधुमेहको पुरानै समस्या थियो ।

वीरगञ्जमा दुई संक्रमितको मृत्यु
यता वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाहीका ४३ वर्षीय पुरुष र बाराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
धनकौल गाउँपालिका–४ बस्ने ४३ वर्षीय पुरुषलाई मंगलबार मात्रै नारायणी अस्पतालमा ल्याइएको थियो । एन्टिजिन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । गएराति १ बजेर ४० मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी दुई दिनअघि नारायणी अस्पतालमा भर्ना भएकी बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको गएराति सवा १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बैशाख १३ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७