जसपामा कार्यकारिणी बैठक बोलाउने विषयमै विवाद
काठमाडौं, १४ बैैसाख । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको शीर्ष नेताहरुको अनौपचारिक छलफलमा केन्द्रीय कार्यकारिणी बैठक बोलाउने वा नबोलाउने बिषयमा विवाद भएको हो ।
छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई सहभागी थिए । जसपाका एक नेताका अनुसार भट्टराई र यादव तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्ने प्रस्ताव गरेका थिए । तर, ठाकुर र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको हो ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ गठबन्धनबारे जसपाको औपचारिक निर्णय मागेका थिए । जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरुद्धको गठबन्धनको पक्षमा छन् । तर, जसपाले औपचारिक निर्णय नगरे पनि कांग्रेस र माओवादीले भने अविश्वास प्रस्ताव अगाडि बढाउने तयारी गरेका छन् । जसपामा ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादवपक्षले आफूहरुलाई सहयोग गर्ने अपेक्षा कांग्रेस र माओवादीको छ ।