गण्डकीमा माओवादी मन्त्रीहरूले राजीनामा दिँदै
पोखरा, २५ चैत । गण्डकी प्रदेशमा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका छन् । पार्टीको बुधबार बसेको संसदीय दलको बैठकले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आफ्नो पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूको राजीनामा माग्ने निर्णय गरेको सांसद दीपक कोइरालाले जानकारी दिए ।
‘हाम्रो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा माग्ने निर्णय भएको छ । उहाँहरूले आजै राजीनामा दिनु हुन्छ होला’, उनले भने । गण्डकी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हरि चुमान र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा रहेका छन् । गण्डकी प्रदेशको हिउँदे अधिवेशन पनि आज १ बजेदेखि शुरु हुँदैछ ।