भारत–नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी
बारा, २ माघ । भारतको पटना–मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी भएको छ । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजेल आपूर्ति हुँदै आएको छ ।
बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर डिजेल चोरी गरिएको खबर भारतीय अखबार नवभारत टाइम्सले लेखेको छ । बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना भएको पनि नवभारत टाइम्सले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजेल चोरी भएको आशंका गरेका छन् ।
पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजेल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई खबर गरेका थिए ।

मुख्य पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजेल चोरी गरिएको नवभारत टाइम्सले उल्लेख गरेको छ । त्यस्तै दैनिक सयौं लिटर डिजेल चोरी भएको हुन सक्ने पनि आशंका गरिएको छ । करिब चार फिट तलको फाइपलाइनमा सानो पाइप जोडेर डिजेल चोरी गरिएको हो ।
महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । यो दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो ।
.gif)

.png)

