बानेश्वरमा संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षका ८५ सांसदको हस्ताक्षर संकलन
काठमाडौं, ६ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला बानेश्वरमा चलिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला भइरहेको एक सहभागीले जानकारी दिए । भेलामा प्रचण्ड, झलनाथ खनाल, नेपाललगायत शीर्ष नेता सहभागी छन् ।
यस अगाडि आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई बालुवाटार भेला गराएर छलफल गरेका हुन् । बैठकमा सहभागी सांसदहरुलाई ओलीले आफूले चालेका पछिल्ला कदमबारे जानकारी गराएका थिए ।
बानेश्वरमा हस्ताक्षर संकलन
यसैबीच संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरिरहेका छन् । नेकपाको संसदीय दलमा ८५ जनाभन्दा बढी सांसदको हस्ताक्षर संकलन गरिएको छ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको बानेश्वरस्थित संसद भवनमा भेला सुरु हुनुअघि सो हस्ताक्षर संकलन गरिएको हो।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेपश्चात आज बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको हस्ताक्षर संकलन शुरु गरेका हुन् ।