सभामुख सापकोटा संसदको विशेषाधिकार प्रयोगबारे परामर्शमा
काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा परामर्शमा जुटेका छन् ।
कानुनका जानकारहरूसँग अहिले उनी छलफलमा रहेको सापकोटाको सचिवालय स्रोतले जानकारी दिएको छ । संसदको विशेषधिकार प्रयोग गर्दै संसद अधिवेशन आह्वान गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा बुझ्न अहिले उनी छलफलमा छन् ।
संविधानको धारा १०३ मा रहेको संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था प्रयोगका बारेमा उनले छलफल गरिरहेको बुझिएको छ ।
संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ, ‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’
सो व्यवस्था सभामुखले प्रयोग गर्न सक्ने–नसक्ने विषयमा छलफल जारी रहेको सापकोटाको सचिवालय स्रोतले जनाएको छ ।