विस्थापन हुँदै आठ हजार घरको खरका छाना


१३:४८ बजे

गुल्मी, १८ कार्तिक । गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन (जस्ता) लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् । खरका छाना विस्थापित भएसँगै उनीहरु पानी चुहिने समस्याबाट मुक्त भएका छन् ।

मदाने गाउँपालिका–६ पुर्कोट दहका प्रेमबहादुर विश्वकर्मा विगत दुई वर्षका बर्खायाममा ढुक्कले निदाए । खरको छाना हुँदा चुहिने घरमा अहिले जस्तापाता लगाएपछि उनलाई मिठो निद्रा पर्न थालेको हो । विसं २०७५ माघमा मदाने गाउँपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि उनी बर्खायाममा पानी चुहिने समस्याबाट मुक्त भएका छन् ।

‘पहिले–पहिले पानी चुहिएर रातमा निदाउनै पाइने थिएन’, उनले भने, ‘यो वर्ष ढुक्कले निदायौँ ।’ सोही ठाउँकी सुन्तली विकको घर पनि खरले छाएको थियो । पानी परे चुहिने डर, खडेरी पर्दा आगलागीको डर । त्यही डरलाई दृष्टिगत गर्दै गाउँपालिकाले जस्तापाता दिएपछि उनको डर हराएको छ ।

‘घरका बालबच्चासँग डरैडरमा बाँचेकी थिए’, उनले भनिन्, ‘घरमा टिनका छाना लगाउँछाँै भन्ने सोचेकी पनि थिइनँ ।’ विक परिवार मात्र होइन, अहिले जिल्लाका धेरै परिवारका छाना जस्ताले छाएको छ । खरका छाना भएका गाउँ टिनले टल्कन थालेका छन् ।

स्थानीय तहको निर्वाचन भइसकेपछि खरका छाना विस्थापन गरी टिनका छाना लगाउने कार्यले तीव्र गति पाएको छ । कतिपय स्थानीय तहमा सबै घरमा खरका छाना विस्थापन गरिएको भने कतिपयमा अन्तिम चरणमा पुगेको छ । खरका छाना विस्थापन भई जस्तापाता लगाएसँगै नागरिक पनि खुसी भएका छन् ।

धुर्कोट गाउँपालिकाले शुरु गरेको खरका छाना विस्थापन गरी जस्तापाता लगाउने अभियान अहिले देशव्यापी चलेको छ । सोही कार्यक्रमअन्तर्गत केही स्थानीय तहले आफ्नो स्थानीय तह भित्रका सबै खरका छाना विस्थापन गरिसकेका छन् ।

जिल्लाको क्षेत्र नं २ का स्थानीय तहले मात्रै टिनका छानामा रु २० करोड खर्चिएका र चार हजार घरलाई खरका छानामुक्त बनाएका छन् । कोरोनाको कारण खरका छानामुक्त गाउँपालिका घोषणा गर्न मात्र बाँकी रहेको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए ।

धुर्कोट गाउँपालिकामा अहिलेसम्म ५५० भन्दा बढी घरमा टिनका छाना लगाइएको छ । सो जस्तापाताका लागि रु दुई करोड बजेट खर्च भएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

‘स्थानीय तहको निर्वाचनमा निःशुल्क जस्तापाता दिने आश्वासन दिएका थियौं’, उनले भने, ‘अहिले त्यसैलाई सार्थकता दिँदैछाैं ।’ मुसिकोट नगरपालिकामा खरका छाना विस्थापित गरी टिनका छाना पाउने कूल लाभग्राही संख्या ९९३ हुन् । जसमध्ये सबै परिवारले टिन पाएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

जस्तापाता वितरणका लागि अहिलेसम्म कूल रु चार करोड खर्च भएको सापकोटा बताउँछन् । कोभिडका कारणले खरका छानामुक्त नगरपालिका घोषणा गर्न नसकिएको उनको भनाइ छ ।

मालिका गाउँपालिकाका कूल लाभग्राही एक हजार ४७ परिवार हुन् । जसमध्ये ९२८ घरधुरी खरका छानामुक्त भइसकेका छन् । बाँकी ११९ परिवारलाई चालू आर्थिक वर्षमा जस्ता उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । गाउँपालिकाले टिनका छाना खरिदमा अहिलेसम्म रु तीन करोड ९० लाख खर्च गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७