प्रचण्डले भने, ‘ओलीले झुक्याउनु भो, परिबन्धमा परेर राष्ट्रपति निवास पुगें’
काठमाडौं, ४ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच हिजो (शनिबार) साँझ भएको भेटघाट र शीतलनिवास यात्रापछि पार्टीभित्रको विवाद नयाँ मोडमा पुगेको चर्चा चलिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजोको घटनाबारे स्पष्ट पारेका छन् ।
शनिबार राति नेकपा अध्यक्ष प्रचण्डमा एकाएक नाटकीय परिवर्तन देखिएको चर्चा चलिरहेका बेला प्रचण्डले प्रधानमन्त्री ओलीको परिबन्ध परेर आफू राष्ट्रपतिको शीतलनिवास पुगेको बताएका छन् । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरेका थिए । प्रचण्डले प्रतिबाद गरेनन् । प्रचण्डले कुनै वादप्रतिवाद नगरेपछि नेताहरूमा ‘शङ्का’ गर्ने ठाउँ बन्यो ।
बैठक सकिएपछि प्रधानमन्त्रीसँगै प्रचण्ड सुटुक्क शीतल निवास लागेपछि नेताहरूले शंका गर्नु पनि स्वभाविक नै थियो ।
बैठक सकिएर गठबन्धनका नेता भेट्लान् भन्ने अपेक्षा थियो । तर, सुटुक्क शीतल निवास गएपछि अविश्वास बढ्नु स्वभाविक थियो । त्यतिञ्जेल बाहिर हल्लीखल्ली भइसकेको थियो, प्रचण्ड–ओलीबीच सहमति भयो । बैठकमा माधव नेपालले असन्तुष्टि राखेको कुरा उनको सचिवालयमार्फत बाहिर आइरहेको थियो । त्यसले बाहिर साँच्चै सहमति भयो कि क्या हो भन्ने भान पारेको थियो ।
राष्ट्रपति निवासबाट फर्किएपछि प्रचण्डपुत्री गंगा दाहाल (दाहालको सचिवालय सदस्य) ले फेसबुकमा स्ट्याटस लेखेर सहमति नभएको बताए पनि नेताहरू विश्वस्त हुन सकेनन् । प्रचण्डले आज (आइतबार) बिहानै आफ्नै निवास खुमलटार बोलाएर नेताहरुलाई आफूलाई ओलीले झुक्याएको बताएका छन् ।
‘बैठक सकिना साथ प्रधानमन्त्री ओलीले निवासतिर जाउँ भन्नु भयो । विष्णु पौडेलले पनि एसएमएस गरेर बोलाउनु भयो’, प्रचण्डले झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता श्रेष्ठसँगको आजको भेटमा सुनाए, ‘तर, त्यहाँ कुरा अर्कै रहेछ ।’
प्रधानमन्त्री क्वाटर गएपछि राष्ट्रपति निवासबाट बोलावट भएको र जान बाध्य भएको दुखेसो पोखेका छन् । ‘ओलीले झुक्याउनु भयो, म परिबन्धमा परेर शीतलनिवास पुगें । कमरेडहरू ओलीसँग कुनै सहमति भएको छैन । अर्ली महाधिवेशन गर्ने अवस्था छैन । अल्मल्याउने कुरा हो त्यो’, उनले हिजोको घटनालाई प्रष्ट्याउँदै भने । राष्ट्रपति कार्यालयमा डेढ घण्टा बसे पनि मूर्त कुरा हुन नसकेको प्रचण्डले बताएका छन् ।
बाहिर प्रचण्ड–ओलीबीच सहमति भएको समाचार डढेलो बनिसकेपछि हतारहतार छोरीलाई खण्डन गर्न लगाएको पनि उनले बताएका छन् । उनले थपे, ‘म परिबन्धमा परेर राष्ट्रपति निवास गएँ । तपाईंहरू भ्रममा नपर्नुस्, कुनै सहमति भएको थिएन र छैन पनि ।’