पूर्वराजा शाहबाट विपदपीडितप्रति दुःख व्यक्त, भने, ‘समयमै ध्यान पुग्न नसक्दा क्षति’
काठमाडौं, २९ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट पीडित सर्वसाधारणको अवस्थाप्रति चिन्ता प्रकट गरेका छन् ।
उनले आ (सोमबार) एक विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका, घाइते भएका र घरबारविहीनको समस्याप्रति दुःख व्यक्त गरेका छन् । पूर्वराजा शाहले यो शोक, वियोग, व्यथा र वेदनाको स्थितिमा सबैलाई उद्धारमा जुट्न समेत आग्रह गरेका छन् ।
उनले भनेका छन, ‘शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।’
उनले हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया भएको बताउँदै त्यसको रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने समेत बताएका छन् ।
उनले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने प्रार्थना समेत गरेका छन् । शाहले प्राकृतिक विपदको यो समयमा शोक सन्तप्त पीडित सबैमा समवेदना व्यक्त गर्दै घाईते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।