संखुवासभा पहिरो : उच्च जोखिममा परेका ७३ घरकालाई सारियो, बेपत्ता ११ जना अझै भेटिएनन्


२०७७ असार २९ सोमबार ०६:०९ बजे

संखुवासभा, २९ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घर परिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । उनीहरुलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको भए पनि कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ । विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान नसकेको प्रहरी प्रमुख मल्लले बताए ।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अविरल वर्षाले उद्धारका लागि सदरमुकाम खाँदबारीबाट हिंडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन् ।

उद्धार तथा बेपत्ताको खोजीकार्यका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ भने जनपथ प्रहरी १५ जना र सशस्त्र प्रहरी १५ जना घटनास्थलतर्फ लागेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिंडेर घटनास्थलतर्फ लागेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७