काठमाडौं, १४ माघ : एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो ।
बैठकले सिट संख्यामा अनुपातमा प्रादेशिक मन्त्रीपरिषद् कम्तिमा ७ र बढीमा ११ जना बनाउने निर्णय भएको बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको छ । एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।
यता, प्रदेश सभामुख पदको भागवण्डा पनि कार्यदल बैठकले टुंग्याएको छ । १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुखमा एमाले र ४, ५ नम्बर प्रदेशको सभामुख माओवादी पाउने गरी भागवण्डा भएको छ ।
त्यस्तै, उपसभामुखतर्फ ४ र ५ मा एमाले, १, ३, ६ र ७ मा माओवादीले पाउने गरी समझदारी भएको पाण्डेले बताए । प्रदेश संसदीय सतिति र मन्त्रीको अनुपात ७० र ३० प्रतिशतलाई कायम गर्ने भएको छ, भने वाम गठबन्धले मुख्यमन्त्रीलाई नै प्रादेशिक मन्त्री छान्न दिने गरी अधिरकार सुम्पिएको छ ।
प्रदेश मन्त्रिपरिषद् ११ सदस्य
एमाले र माओवादीबीच प्रदेश सरकारमा ११ जनासम्म मन्त्री बनाउने सहमति भएको छ। मन्त्रीको भागबण्डा भने ७० र ३० प्रतिशतमा हुने भएको छ। एमालेले ७० प्रतिशत मन्त्री पाउने छ भने माओवादीकले ३० प्रतिशत मन्त्री पाउने छ।