संकीर्ण स्वार्थ, अहं,भावावेश र अविश्वासबाट प्रेरित नभई एकताको मर्मबाट अघि बढौं : माधव नेपाल
काठमाडौं, ९ वैशाख : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्न अपिल गरेका छन् । व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहंबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नहुन नेपालले अपिल गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७१औँ स्थापना दिवसको अवसरमा नेता नेपालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौँ आशंका र चिन्ता उत्पन्न भएको पाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई एकताको मर्मबाट अघि बढ्न अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौँ आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ । यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रूपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्छ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु ।’
वरिष्ठ नेता नेपालले नेता, कार्यकर्ता र जनताको ध्यान कोभिड–१९ महामारीको संक्रमणका बिरुद्ध लड्ने काममा केन्द्रित गर्न आग्रह गरेका छन् । नेता नेपालले भनेका छन्,‘कोभिड– १९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको वेला नेपाल सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, हाम्रो पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणका विरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्छ ।’
प्रेस विज्ञप्तिको पूर्ण पाठ
२२ अप्रिल, १९४९ मा स्थापित नेपाल कम्युनिस्ट पार्टीको ७१औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव कमरेड पुष्पलाललगायत संस्थापकहरूको स्मरण गर्दै यस आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपुऱ्याउन जीवन आहुति गर्नुहुने सहिदहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, कम्युनिस्ट आन्दोलनमार्फत आमूल परिवर्तनका लागि जीवन समर्पण गर्नु हुने नेता–कार्यकर्ता एवं साथ र समर्थन गर्नुहुने आदरणीय जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।
मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको वेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको छ । नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले नेपाल कम्युनिस्ट पार्टीलाई दिएको अभिमत सामाजिक न्यायसहितको समुन्नत र समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्नका लागि हो । नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई बलियो तुल्याउनका लागि हो । यस सन्दर्भमा कम्युनिस्ट आन्दोलनका विगतमा टुटफुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै हामीले दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दिगो र बलियो बनाउनु यतिवेला सबै नेता–कार्यकर्ताको गहन जिम्मेवारी हो । बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेबारी कुशलताका साथ पूरा गर्न सकिन्छ ।
राष्ट्रिय राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका पार्टीको विधि–पद्धति तथा संगठनात्मक प्रणाली, नेतृत्व तहबीचको विश्वास, कार्यकर्ताहरूबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिन्छ । यसर्थ, यस चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहन आह्वान गर्दछु । हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकाैँ आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ । यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रूपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्छ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु । व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहंबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।
कोभिड– १९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको वेला नेपाल सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, हाम्रो पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणका विरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्छ । यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम–कुरा हुनुहुँदैन । विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्ड र नेपाल सरकारले गरेका निर्णयहरूको पालना गर्दै आफू पनि सुरक्षित रहँदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रित रहन र जन सेवाको भावनाबाट अग्रसर हुन म सबैलाई हार्दिक अनुरोध गर्दछु ।