जर्नेल सुरेश कार्कीको रहस्यमय चीनयात्रा

काठमाडौं : सुरक्षा निकायका अधिकारीले बिनाअनुमति देशको सिमाना वारी–पारी आवतजावत गर्न पाउँदैनन् । तर, नेपाली सेनाका एकजना जर्नेलले यस्तो अनुशासनहीन काम गरेपछि सैनिक मुख्यालयमा चर्चाको विषय बनेको छ ।

सिन्धुलीमा अवस्थित श्री नं. ९ बाहिनी, मझिमटारका बाहिनीपति सहायक रथी (जर्नेल) सुरेश कार्की सैनिक मुख्यालयको अनुमति बिना गत २२ पुस, शनिबार रसुवाहुँदै केरुङ नाकाबाट चीन छिरे । उनले त्यता जानुअघि सैनिक मुख्यालयसँग कुनै अनुमति नलिएको मुख्यालयस्रोतले जनाएको छ । उनी भोलिपल्ट काठमाडौं फर्किएका थिए । उनी बाहिनीपतिका रुपमा सिन्धुली, रामेछाप र दोलखा जिल्ला हेर्ने एकतारे जर्नेल हुन् ।