रेशम चौधरी छिट्टै छुट्छन् : प्रचण्ड
काठमाडौं, २ माघ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् ।
माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम केही समयभित्रै निस्कने जिकिर पनि गरे ।
उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्यो भनेर साथीहरूले भन्नुभयो, पार्टी र सरकारसँग पटक–पटक छलफल भइसकेको छ । कतिपय साथी छुटेका छन् । रेशमलगायत साथीहरू छुट्न बाँकी छ । छुटाइन्छ हेर्नुहोला, केही समयभित्र यसको परिणाम निस्कन्छ ।’
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट र सुरक्षाकर्मी बीचको झडपमा प्रहरीका एक एसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । त्यही अभियोगमा चौधरीलगायतविरुद्द कैलाली जिल्ला अदालतमा परेको मुद्दामा अदालतले दोषी ठहर गर्दै चौधरीलगायत ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष जेल, एक जनालाई ६ महिना जेल र तीन जनालाई सफाइ हुने फैसला सुनाएको थियो । मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको थियो ।
कैलाली अदालतको फैसला पुनरावेदनका लागि चौधरीलगायत उच्च अदालत दिपायल गएका छन् । उनको मुद्दा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा चलिरहेको छ । मुद्दाको पेसी ७ माघका लागि तोकिएको छ ।
‘रेशमलाई सबैभन्दा पहिला प्रधानमन्त्रीको हैसियतले भारतको दिल्लीमा भेटेर के हो तपाईंको कुरा राख्नुहोस् भन्ने पहिलो व्यक्ति प्रचण्ड थियो भन्ने तपाईंहरूले नबिर्सनु होला । प्रधानमन्त्रीको हैसियतले मैले भेटेको हुँ’, दाहालले टुँडिखेलमा भने, ‘तपाईंहरूले के बिर्सन पाउनु हुन्न भने डिल्लीबजार खोरमा गएर रेशमलाई भेट्ने पनि मै हुँ भन्ने बुझिराख्नुस् । सभामुख, सरकार र पार्टीलाई भनेर कम्तीमा पनि रेशलाई शपथ गराउनु पर्छ, माननीयको दर्जा दिनुपर्छ भनेर निर्णय गराउन मुख्य भूमिका खेल्ने मान्छे पनि म हुँ भन्ने नबिर्सनु होला ।’
चौधरी राजपाका तर्फबाट कैलाली १ बाट प्रतिनिधिसभामा विजयी भएका हुन् । ०७५ पुस १९ मा चौधरीलाई डिल्लीबजार सदरखोरबाट सिंहदरबारमा ल्याएर तत्कालीन सभामुख कृष्णबहादुर महराले सांसदको शपथ खुवाएका थिए ।
थरुहट र राजपाले चौधरीलगायत टीकापुर घटनामा मुद्दा लागेका माथिको मुद्दा फिर्ता लिन र उनलाई रिहा गर्न सरकारमाथि दबाब बढाइरहेका बेला सरकारकै नेतृत्व गरिरहेको दल नेकपा अध्यक्ष दाहालले उनी छिट्टै छुट्ने बताएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकबाट