११ हजार शिक्षकसहित १७ हजार कर्मचारी कार्बाहीमा
काठमाडौं, ३ जेठ । राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारी जनप्रतिनिधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका लागि सिफारिस गरेको छ ।
केन्द्रले आर्थिक वर्ष २०७४–२०७५ मा तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाई भ्रष्टाचार निवारण ऐन उल्लंघन गर्ने १७ हजार १ सय २७ जनालाई कार्बाहीको सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए ।
सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक रहेका छन् । ११ हजार १ सय शिक्षकले सम्पत्ति विवरण नबुझाएको सतर्कता केन्द्रको दाबी छ । त्यस्तै एक हजार नौ सय ३९ जना निजामति कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
सेनाका ४६६ जनाले सम्पति विवरण नबुझाउँदा १ सय २६ प्रहरीले विवरण बुझाएका छैनन् । त्यस्तै २ हजार चार सय पाँच जनप्रतिनिधिले विवरण बुझाउन अटेर गरेका छन् । जिसस पदाधिकारी पाँच जना रहेका छन् भने अन्य ६ सय १९ जना रहेका छन् । राजधानी दैनिकबाट