बेलबारी मेयर कप-२०७६ शुरु, उद्घाटन खेलमा वडा नम्बर–६ विजयी (हेर्नुस् तस्विर)


२०७६ बैशाख ३१ मंगलबार ०१:४१ बजे

-अर्जुन कुलुङ राई
बेलबारी, ३१ वैसाख । ‘जुट्छ, खेल्छ अनि अघि बढ्छ बेलबारी’ भन्ने मूल नाराको साथ बेलबारी नगर मेयर कप २०७६ नगरपालिका अन्तर वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

वडा नम्बर–६ र ९ बीचको उद्घाटन खेलमा वडा नम्बर–६ विजयी भएको छ । वडा नम्बर–६ ले २–० गोलको अन्तरले वडा नम्बर ९ लाई हराएको छ । वडा नम्बर–९ का खेलाडीहरू हरियो जर्सीमा र वडा नम्बर–६ का खेलाडीहरू निलोमा थिए ।

वडा नम्बर–६ ले शुरुवातबाट नै दबाबपूर्ण खेल प्रदर्शनी गरेको थियो । खेलको पहिलो हाफको ७ मिनेटमा नै जर्सी नम्बर–९ का खेलाडी टिम क्याप्टेन जोन मगरले खेलमा पहिलो गोल गरेका थिए । क्याप्टेन मगरले पुन दोस्रो गोल २५ मिनेटमा गरे । वडा नम्बर–९ ले भने खेलको पहिलो हाफमा कुनै गोल गर्न सकेन ।

वडा नम्बर–६ पहिलो हाफमा नै २ गोल गरेपछि वड नम्बर–९ लाई खेल दबाबपूर्ण भएको थियो । दोस्रो हाफको २२ मिनेटमा वडा नम्बर–९ को तर्फबाट जर्सी नम्बर–७ का खेलाडी पारस तामाङले फ्रि किक हान्ने मैका पाए पनि तामाङको फ्रि किकलाई गोल रक्षकले सहजै रोकेका थिए ।

तामाङको प्रयास असफल भएसँगै जर्सी नम्बर–२ का खेलाडी प्रशान्त राजवंशीले २९ मिनेटमा सोझो पोस्टमा गोल हान्ने मौका पाए पनि गोल रक्षकले रोकेका थिए । वडा नम्बर–९ को सक्दो प्रयास भएता पनि खेलमा गोलविहीन भएर पराजित भयो ।

खेलको म्यान अफ दी म्याच वडा नम्बर–६ खेलाडी टिम टिम क्याप्टेन जोन मगर घोषित भए । वडास्तरीय नकआउट फुटबल प्रतियोगिता बेलबारी नगर मेयर कप २०७६ को उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर सुबेदीले बेलबारी नगरपालिकामा खेलकुद क्षेत्रको विकासको लागि सधैँ गम्भीरतापूर्वक लागि पर्ने बताए ।

प्रतियोगिता जेठ ९ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेतालाई रु.१ लाख १ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै उपविजेतालाई रु. ५१ हजार , ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने बेलबारी नगर मेयर कप २०७६ का संयोजक गजेन गुरुङले जनाएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७