सभामुख महराद्धारा समाचारको खण्डन
काठमाडौं बैशाख १३ : सभामुख कृष्णबहादुर महराले ‘क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको’ भन्ने समाचारको खण्डन गरेका छन्।
सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारप्रति कडा आपत्ति जनाउँदै कानुनी उपचारको बाटो खोजिने चेतावनी दिइएको छ ।
चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने र भ्रम फैलाउने जस्ता गलत नियतबाट गरिने धन्दा कहिल्यै पनि पत्रकारिता हुन नसक्ने विज्ञप्तिमा उललेख गरिएको छ । ‘उक्त घटनाबारे सभामुखज्यूलाई कुनै जानकारी नै नभएको र प्रहरी तथा स्थानीय प्रशासनका कोही पनि अधिकारीसँग फोन सम्पर्क नै नभएको अवस्थामा उल्टै पक्राउ परेका व्यक्तिलाई छुटाउन दबाब दिएको भनी सभामुखज्यूको चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिताको नाममा गरिएको घृणित क्रियाकलापले मलाई निकै दुःखी बनाएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका बारेमा लगाइएको आरोप प्रमाणित गर्न म सम्बन्धित अनलाइनहरु र सञ्चालकलाई चुनौति दिन चाहन्छु।’
सभामुख महराको नाम जोडेर ‘क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन प्रहरीलाई दबाब दिएको’ भनी कही अनलाइन मिडियामा समाचार प्रकाशित भएको थियो ।