गगन थापा अस्पतालबाट डिस्चार्ज, मतदातालाई आतंकित नहुन आग्रह
काडमाडाैं : कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापा शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । काठमाडौंको नारायणस्थानस्थित चपली हाइटमा बम विस्फोट हुँदा घाइते भएका थापा उपचारपछि डिस्चार्ज भएका हुन् ।
थापाको घरदैलो कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट हुँदा थापासहित ११ जना घाइते भएका छन् । घाइतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । डिस्चार्चपछि अस्पतालमा शुभचिन्तक तथा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन मतदातालाई आग्रह गरेका छन् । उनले भने, 'घरदैलो कार्यक्रम निर्धारित समयभन्दा एक घन्टा ढिला गरी भएकाले म छिटो-छिटो पाइला चाल्दै थिएँ । त्यसैले मेरो पछाडि रहेका साथीहरुलाई चोट लाग्यो ।' यसैबीच आफ्ना नेता गगन थापा माथि बम आक्रमण भएपछि नेपाली काँग्रेसले विज्ञप्ती निकालेर यस्ता अबाञ्छनीय गतिविधि गर्नेहरुमाथि चेतावनी दिएको छ । सोमबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा नेपाली काँग्रेस र लोकतान्त्रिक शक्ति विरोधि तत्वहरुले दिनानुदिन यस्ता गतिविधिहरु गर्ने गरेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ, 'नेपाली काँग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित कार्य र आक्रमणप्रति नेपाली काँग्रेस घोर भत्र्सना र निन्दा गर्दछ । यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनमाका कार्यक्रमहरु गर्नपाउने नागरिकको नैसर्गिक अधिकार माथि समेत ठाडो उल्लंघन भएको छ । र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारको अवांञ्छित गतिविभि नदोहोर्याउन नेपाली काँग्रेस चेतावनी पनि दिन चाहन्छ ।'