प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग


२०७५ श्रावण ७ सोमबार ११:०१ बजे
सुर्खेत, ७ साउन । कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उनीहरुको राजीनामा माग गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले यहाँ अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको समाजका अध्यक्ष रामकान्त उपाध्यायले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाए । उपकुलपति वाग्लेलगायत अन्य पदाधिकारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई डा. गोविन्द केसीलाई भेट्न जान नदिने सुनियोजित योजना बनाएको, उनीहरु त्यहाँ पुग्ने बित्तिकै प्रवेश रोक लगाई वातावरणलाई उत्तेजित बनाएर झडप र तोडफोडको स्थिति सिर्जना गरेको अध्यक्ष उपाध्यायले बताए । उनले योजना बनाउने पदाधिकारीसहित घटनामा संलग्न अन्य दोषीमाथि अविलम्ब छानबिन गर्न र प्रतिष्ठानको क्षतिपूर्ति हुनुपर्ने माग राखे । नागरिक समाजले डा. केसीको जीवन रक्षाका लागि काठमाडौँ लैजान आग्रह गरेको अवस्थामा पनि डा. केसीलाई काठमाडौँ नपठाएर झडपको स्थिति सिर्जना गरिएको दाबी समाजले गरेको छ । यता नेपाल चिकित्सक संघ कर्णाली शाखा जुम्लाका अध्यक्ष डा. मंगल रावलले पनि प्रतिष्ठानमा घटना घट्नुमा पदाधिकारी नै प्रमुख जिम्मेवार रहेको ठोकुवा गरे । अध्यक्ष डा. रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भनेको समयमै एमबीबिएस पढाइ नहुनुमा पनि पदाधिकारीकै प्रमुख दोष रहेको औँल्याए । प्रतिष्ठान, कर्मचारी हकहित जुम्लाका महासचिव राजबहादुर खत्रीले त्यहाँ अध्ययनरत विद्यार्थी आफैँ तोडफोडमा नलागेको बताए । महासचिव खत्रीले भवनको संरचना तोडफोड एवं विद्यार्थी कुटिनुमा पदाधिकारी, केही कर्मचारी दोषी र अस्पताल हाताभित्रै अन्धाधुन्ध लाँठीचार्ज गर्नु प्रशासनको कमजोरी रहेको औँल्याए । प्रतिष्ठानका निमित्त डिनको भूमिका निर्वाह गरेकी नर्सिङ लेक्चर अनुपा श्रेष्ठले साउन ३ गतेका दिन आफूहरु कसैलाई जानकारी नदिएर नर्सिङ र एचएका विद्यार्थीलाई तोडफोडमा लगाएको बताइन् । पछिल्लो समयमा त्यहाँ अध्ययनरत विद्यार्थीले पनि डा. केसीको जीवन रक्षाको नाममा आफूलाई प्रयोग गरिएको दुखेसो पोखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७