स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता तथा जनप्रतिनिधि राष्ट्रिय भेलामा जुट्दै
काठमाडौं : आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर नेकपा (एमाले)ले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
केन्द्रीय नेतृत्वदेखि स्थानीय तहका नेता तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्म सहभागी हुने भेलामार्फत एमालेले चुनावी रणनीति, सङ्गठनात्मक एकता र राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको छ ।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख नीरज आचार्यले भेलाको मुख्य उद्देश्य आगामी स्थानीय निर्वाचनको व्यवस्थित तयारी गर्नु रहेको जानकारी दिए ।
भेलामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसहित कुल ३ हजार ४१४ जनाको सहभागिता रहने उनले जानकारी दिए । भेलाले चुनावी पूर्वतयारीसँगै पार्टी पङ्क्तिमा राजनीतिक बुझाइ, दृष्टिकोण र निर्णयप्रति एकरूपता कायम गर्ने लक्ष्य राखेको बताइएको छ ।
वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्ने र मुलुकमा पछिल्लो समय देखिएको कुशासन तथा निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने उद्देश्यसमेत भेलाले लिएको आचार्यले बताए ।
भेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्ने कार्यक्रम छ । उनले पार्टीका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामसहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन प्रस्तुत गर्नेछन् ।
त्यस्तै, पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेलामा समसामयिक राजनीतिक अवस्था र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् । भेलामा पार्टीका शीर्ष नेताहरूले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रमसमेत तय भएको छ ।
उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा तथा महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नेछन् ।
भेलामा सहभागी सबैले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य रूपमा लिखित रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए ।
.gif)

.png)




