दुई उद्योगका तीन उत्पादनमा कैफियत, खाद्य विभागले दियो फिर्ता गर्ने आदेश
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डविपरीत कृत्रिम रङ तथा संरक्षक पदार्थ प्रयोग भएको पाइएपछि तीन प्रकारका खाद्य वस्तु बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
प्रयोगशाला परीक्षणका क्रममा महोत्तरी र ललितपुरका दुई उद्योगबाट उत्पादित चाउमिन कलर, सोया सस र मिक्स भेजिटेबल रेड ससमा खाद्यसम्बन्धी मापदण्ड उल्लंघन भएको पुष्टि भएपछि विभागले यस्तो निर्देशन दिएको हो ।
विभागले कात्तिक २० गते जारी गरेको आदेशअनुसार महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित राधाकृष्ण नुडल्सले उत्पादन गरेको ६०० ग्रामको चाउमिन कलर र ६०० ग्रामकै मिक्स भेजिटेबल रेड सस बजारबाट फिर्ता गर्नुपर्नेछ ।
त्यस्तै, ललितपुर महानगरपालिका–२२ स्थित ग्रिन नेपाल एग्रो प्रालिले उत्पादन गरेको ड्रागन ब्रान्डको ७५० मिलिलिटर सोया सस पनि बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको छ ।
विभागका अनुसार प्रयोगशाला परीक्षणमा चाउमिन कलर र सोया ससमा खाद्य नियमावली, २०२७ को नियम २२ अन्तर्गत अनुसूची–१० (ख) विपरीत हुने गरी कृत्रिम रङ प्रयोग भएको पाइएको छ ।
मापदण्डविपरीत खाद्य पदार्थ बजारमा पुगेको पाइएपछि उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै विभागले सम्बन्धित उत्पादकलाई बजारमा पठाइसकेका वस्तु तत्काल फिर्ता लिन आदेश दिएको हो ।

.gif)

.png)




