काठमाडौं २४ घण्टा खुलाउने तयारी
यसअघि २०८१ वैशाख १ गते तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई २४ घण्टा खुला राख्ने घोषणा गरेका थिए।
काठमाडौं : काठमाडौंलाई रातभर सञ्चालन हुने सहरका रूपमा विकास गर्ने तयारी थालिएको छ। ठमेल र दरबारमार्गमा सीमित २४ घण्टे बजार सञ्चालनको अभ्यासलाई विस्तार गर्दै समग्र काठमाडौंलाई नै चौबीसै घण्टा खुला राख्ने विषयमा सरकारले अध्ययन र छलफल अघि बढाएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले ठमेललाई मात्र नभई समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएका छन्।
ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रियामा उनले यस्तो जानकारी दिएका हुन्। काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको भए पनि यसको कार्यान्वयन मिति र विस्तृत कार्ययोजना भने सार्वजनिक गरिएको छैन।
यसअघि २०८१ वैशाख १ गते तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई २४ घण्टा खुला राख्ने घोषणा गरेका थिए। त्यसका लागि जिल्ला प्रशासन कार्यालयले आचारसंहिता र सुरक्षा व्यवस्थासहितको योजना अघि बढाएको थियो। तर, २४ घण्टे सञ्चालनको अवधारणा अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको भन्दै यसको व्यवस्थापनमा सुधार गर्नुपर्ने आवाज उठ्दै आएको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई सुरक्षित र व्यवस्थित पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रणका लागि घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए। ठमेलका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा मासिक बैठक राख्ने प्रस्तावसमेत उनले गरेका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर व्यवस्थापन, ट्राफिक जाम र सडकमा मागेर हिँड्ने व्यक्तिहरूको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेले स्थानीय बासिन्दा र व्यवसायी तयार भए ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन ट्राफिक प्रहरीले सहयोग गर्ने बताए। जथाभावी पार्किङ गर्ने सवारीसाधनमाथि कारबाही गरिने उनको भनाइ थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सहकार्य आवश्यक रहेको बताए।
छलफलमा घरधनी तथा व्यवसायीले राति आवतजावतमा कठिनाइ, लागुऔषधको कारोबार तथा सेवन, मदिरा सेवनपछि हुने अव्यवस्थित गतिविधि, फोहोर र पार्किङको समस्या उठाएका थिए। सातघुम्ती क्षेत्रमा ढल व्यवस्थापन नहुँदा पानी जम्ने समस्यासमेत उनीहरूले ध्यानाकर्षण गराएका थिए।
परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले २०८१ वैशाख १ देखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। परिषद्का अध्यक्ष राजुमान डंगोलले ठमेलको पर्यटन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
काठमाडौंलाई २४ घण्टा खुला राख्ने तयारी कार्यान्वयनमा आएमा पर्यटन, होटल, रेस्टुरेन्ट, मनोरञ्जन, यातायात तथा अन्य सेवामूलक व्यवसायको गतिविधि रातिसम्म विस्तार हुने अपेक्षा गरिएको छ। तर, त्यसका लागि रात्रिकालीन सुरक्षा, सार्वजनिक यातायात, सडक बत्ती, सरसफाइ, पार्किङ र स्थानीय बासिन्दाको शान्तिसुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने चुनौती देखिएको छ।
.gif)

.png)




