बुढीगण्डकी बाढीले सोती–मान्बु जोड्ने मोटरेबल पुल बगायो
गोरखा : गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।
नदीमा आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि बाढी आएको हो। नदी थुनिएर एक्कासि पानीको बहाव बढ्दा तल्लो क्षेत्रमा क्षति पुगेको बताइएको छ।
बाढीले सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएपछि स्थानीय आवागमनमा समेत असर परेको छ। यसअघि बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा पुल, होटल तथा घरमा क्षति पुर्याएको विवरण सार्वजनिक भएको थियो।
बूढीगण्डकीमा आएको बाढीलाई स्थानीयले रसुवाको भोटेकोशीमा आएको बाढीसँग तुलना गर्दै सामाजिक सञ्जालमा त्रास व्यक्त गरेका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी आसपासका जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउँमा जान आग्रह गर्दै सूचना जारी गरिरहेको छ।
बाढीबाट भएको थप क्षति तथा मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।
.gif)

.png)


