‘मास्टर्नी’को गीतले शिक्षण पेसाको अपमान गरेको भन्दै शिक्षक महासंघद्वारा आपत्ति
काठमाडौँ – आगामी भदौ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्धनात्मक गीतप्रति नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त गीतमा प्रयोग गरिएका शब्द र भावले महिला शिक्षक तथा समग्र शिक्षण पेसाको मर्यादामा आँच पुर्याएको भन्दै तत्काल सार्वजनिक प्रदर्शनबाट हटाउन माग गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ।' महासंघले सम्बन्धित पक्षलाई उक्त गीत तुरुन्त बन्द गर्न आग्रह गर्दै, यदि यस्ता सामग्रीले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुन सक्ने असहज परिणामको जिम्मेवार चलचित्र निर्माता र कलाकार स्वयम् हुने चेतावनी दिएको छ।
दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको तथा बविना किराँतीको स्वर समावेश उक्त गीतमा प्रयोग गरिएका दुईअर्थी शब्द र नृत्यका शैलीहरूका कारण हाल सामाजिक सञ्जालमा समेत व्यापक आलोचना भइरहेको छ। प्रदीप लामाको कोरियोग्राफी रहेको उक्त गीतमा दुर्गेश थापासहित प्रियंका कार्की, आर्यन सिग्देल र आयुष्मान जोशी फिचर्ड छन्।
सुवेन्दु घोषद्वारा निर्देशित यस चलचित्रको निर्माण प्रियंका कार्की जोशी, आयुष्मान कार्की, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा गरेका हुन्। शान बस्नेतको पटकथा र प्रियंका कार्कीको कथा रहेको यस चलचित्रमा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, विशाल पहाडी, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ।
.gif)

.png)

