सञ्चारमन्त्री र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट


२०८३ असार १७ बुधबार १८:४८ बजे

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, डिजिटल रूपान्तरण, सञ्चार क्षेत्रको सुदृढीकरण तथा सङ्घीयताको प्रभावकारी कार्यान्वयनलगायत विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले निरन्तर उपलब्ध गराउँदै आएको विकास सहायताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग अझ विस्तार हुने विश्वास व्यक्त गरे। उनले नेपाली विद्यार्थीका लागि अष्ट्रेलियाले सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिँदै थप विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने अवसर पाउने गरी यसको दायरा विस्तार गर्न आग्रह गरे।

सञ्चारमन्त्रीले नेपाल सरकारले हुलाक सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै अष्ट्रेलियाको आधुनिक, प्रभावकारी र प्रविधिमैत्री हुलाक प्रणालीबाट नेपालले सिक्न चाहेको बताए। यस क्षेत्रमा अनुभव आदानप्रदान तथा प्राविधिक सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

उनले सरकारले 'डिजिटल नेपाल' अभियानअन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने दिशामा काम गरिरहेको उल्लेख गर्दै डिजिटल रूपान्तरणका क्षेत्रमा पनि अष्ट्रेलियाको सहयोग अपेक्षा गरेको बताए।

भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले नेपाल मानव अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याए। स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भए पनि पत्रकारिता तथ्यपरक, उत्तरदायी, व्यावसायिक र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै पत्रकारको क्षमता अभिवृद्धि, डिजिटल पत्रकारिता, नयाँ प्रविधिको प्रयोग तथा तथ्य परीक्षण (फ्याक्ट–चेकिङ) सम्बन्धी सीप विकासमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए।

नेपाल र अष्ट्रेलियाबीच शिक्षा, रोजगारी, पर्यटन, विकास साझेदारी तथा सांस्कृतिक आदानप्रदानमार्फत जनस्तरको सम्बन्ध पछिल्ला वर्षहरूमा अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै उनले भविष्यमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

राजदूत साइमन अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्य गर्न सकिने क्षेत्रहरूबारे सकारात्मक चासो व्यक्त गरे। उनले लोकतन्त्रका आधारभूत मूल्यका रूपमा अभिव्यक्ति तथा विचार स्वतन्त्रताको संरक्षण आवश्यक भए पनि पछिल्लो समय बढ्दो गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) चुनौतीका रूपमा देखिएकाले त्यसको व्यवस्थापनमा सरकार, सञ्चारमाध्यम र सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।

राजदूत अन्स्र्टले अष्ट्रेलियाले नेपालमा सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आवश्यक प्राविधिक तथा संस्थागत सहयोग आगामी दिनमा पनि जारी रहने विश्वास व्यक्त गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७