देशमा लोकतन्त्र अपहरित भयो, सरकार फाँसीवादी शैलीमा अघि बढ्यो: ओली

‘पार्टीका लागि सङ्घर्षबाहेक अर्को बाटो छैन’


२०८३ असार ११ बिहीबार २०:१९ बजे

पोखरा: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्र अपहरण गरी देशलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाएका छन्। गण्डकी प्रदेशस्तरीय भेलालाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन हुँदैमा देशमा लोकतन्त्र बलियो छ भन्न नमिल्ने जिकिर गरेका छन्।

अध्यक्ष ओलीले निर्वाचनका क्रममा गुणस्तरहीन मसीको प्रयोग र मतपेटिका ढुवानीमाथि शङ्का व्यक्त गर्दै, प्रमाणले पुष्टि नभएसम्मका लागि मात्र निर्वाचन परिणाम स्वीकारिएको स्पष्ट पारेका छन्।

अध्यक्ष ओलीले वर्तमान सरकार जनताको सेवक बन्नुको साटो शासक बन्न खोजेको आरोप लगाएका छन्। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले देशको राष्ट्रियता र अस्तित्व खतरामा परेको बताउँदै उनले सरकार नाजी र मुसोलिनी शैलीमा विपक्षी दमनमा उत्रिएको दाबी गरेका छन्। २०७४ सालको एमाले सरकारले गरेका ऐतिहासिक कार्यहरूको चर्चा गर्दै उनले आफूहरूलाई झुठा लाञ्छना लगाएर घेराबन्दी गरिएको बताएका छन्। आफूमाथि लागेका झुठा आरोपहरूको खण्डन गर्दै उनले जुनसुकै परिस्थितिमा पनि शिर नझुकाउने दृढता व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले निर्वाचनमा भएको पराजयबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। संसद्, प्रदेश र स्थानीय तहमा एमालेको बलियो उपस्थिति रहेको स्मरण गराउँदै उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्दा फेरि विजय हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

'पार्टीमा एकता, एकता र समृद्ध एकताबाहेक अर्को विकल्प छैन,' उनले भनेका छन्। उक्त भेलामा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल र खगराज अधिकारी लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७