भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृत्यु

\'कोर्ट अफ इन्क्वायरी\' को आदेश


२०८३ जेठ ३० शनिबार १६:४७ बजे

नयाँ दिल्ली : भारतको असम राज्यस्थित जोरहाटमा रहेको रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान भएको एक सैन्य विमान दुर्घटनामा परी पाइलटसहित पाँच जना सैन्य जवानको दुखद मृत्यु भएको छ।

नियमित उडानमा रहेको सोभियत संघ निर्मित एन्टोनोभ एएन–३२ ट्याक्टिकल ट्रान्सपोर्ट विमान बिहान करिब १० बजे एयरबेसमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा विमानका सह–पाइलट (को–पाइलट) भने गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कर्तव्य पालनाका क्रममा सर्वोच्च बलिदान दिनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन्।

प्रत्यक्षदर्शी तथा आधिकारिक स्रोतका अनुसार धावनमार्गमा ओर्लिने प्रयास गर्दा अनियन्त्रित भएको उक्त मालवाहक विमान बजारिएलगत्तै दुई टुक्रा भएको थियो र त्यसमा भीषण आगलागी भएको थियो।

दुर्घटनालगत्तै एयरबेसमा 'इमर्जेन्सी प्रोटोकल' लागू गरी सेना र दमकलको टोलीले आगो नियन्त्रणमा लिएका थिए भने घाइते सह–पाइलटलाई तत्कालै सैन्य अस्पताल पुर्‍याइएको थियो।

इन्डियन एयरफोर्सले दुर्घटनाको वास्तविक प्राविधिक वा मानवीय कारण पत्ता लगाउन 'कोर्ट अफ इन्क्वायरी' (उच्चस्तरीय छानबिन) को आदेश दिएको छ। वायुसेनाले आधिकारिक छानबिनको प्रारम्भिक नतिजा नआएसम्म घटनाबारे कुनै पनि अनुमान वा अड्कलबाजी नगर्न अपिल गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार, झण्डै चार दशकदेखि वायुसेनाको ‘मिडियम–लिफ्ट ट्रान्सपोर्ट’ क्षमताको मेरुदण्डको रूपमा काम गर्दै आएका पुराना एएन–३२ विमानहरूको फ्लिट (ब्याच) लाई विस्थापित गरी भविष्यमा सैनिक र सैन्य सामग्रीको सुरक्षित ओसारपसारका लागि नयाँ ‘मिडियम ट्रान्सपोर्ट एयरक्राफ्ट’ खरिद गर्ने योजना वायुसेनाले अघि बढाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७