विद्युतीय गाडी भन्सार छली प्रकरण: छानबिनका लागि सरकारी टाेली मुस्ताङमा

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सराकरले बनाएकाे छानबिन गर्न संयुक्त समिति मुस्ताङ पुग्याे


२०८३ जेठ २२ शुक्रबार १५:२५ बजे

मुस्ताङ:  बहुचर्चित विद्युतीय सवारी साधन ब्राण्ड बीवाईडी को भन्सार छली तथा नीतिगत सूचना चुहावट प्रकरणबारे विस्तृत स्थलगत अनुसन्धानका लागि केन्द्रबाट एक उच्चस्तरीय अनुगमन टोली मुस्ताङ पुगेको छ। भन्सार विभागका उपसचिव र अर्थ मन्त्रालयका उपसचिव सहित विभागका अन्य दुई जना अधिकृत सम्मिलित टोली चीनसँगको उत्तरी नाकामा रहेको मुस्ताङ भन्सार कार्यालय कोरोला पुगेको हो।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य आउनु अगावै विद्युतीय गाडीको भन्सार तथा करका दरहरू बढ्ने निश्चित सूचना सरकारी निकायबाटै लिक (चुहावट) भएको आशंका गरिएको छ। सोही सूचनाका आधारमा बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नीतिगत लाभ लिने उद्देश्यले ठूलो संख्यामा गाडीहरू हतार-हतार नेपाल भित्र्याएको तथ्य बाहिरिएको छ। प्राप्त विवरण अनुसार कम्पनीले गत जेठ १२ र १३ गते मात्रै कोरोला नाकाबाट ६४९ वटा विद्युतीय गाडीको भन्सार जाँचपास गराएको थियो।

कोरोला नाका मात्र नभई कम्पनीले अर्को प्रमुख उत्तरी नाका रसुवागढीबाट समेत सोही अवधिमा थप ४७२ वटा गाडी भित्र्याएको सरकारी रेकर्डबाट खुलेको छ। बजेट अघिको संवेदनशील समयमा राज्यका सूचना संयन्त्रको दुरूपयोग गरी अर्बौँ रुपैयाँ बराबरको राजस्व मार्ने नियत देखिएपछि यस घटनाको चौतर्फी आलोचना भइरहेको छ।

यस गम्भीर प्रकरणलाई संज्ञानमा लिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको थियो।

सोही समितिको कार्ययोजना अनुसार थप प्राविधिक र प्रशासनिक प्रमाण संकलनका लागि केन्द्रको टोली शुक्रबार नै मुस्ताङ पुगेको प्रमुख भन्सार अधिकृत बिदुर चुडालले जानकारी दिए। टोलीले भन्सार प्रक्रिया, इन्ट्री समय र कानुनी कागजातहरूको सुक्ष्म अध्ययन सुरु गरिसकेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७