पर्यटक भिसामा प्रशिक्षण चलाएको आरोपमा विराटनगर होटलबाट ६ विदेशी पक्राउ


२०८३ बैशाख ५ शनिबार १७:०१ बजे

विराटनगर :  विराटनगरस्थित एक होटलबाट गैरकानुनी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको आरोपमा प्रहरीले ६ जना विदेशी नागरिकलाई शनिबार नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेकाहरू पर्यटक भिसामा नेपाल आएर होटलभित्र ‘लाफिङ बुद्ध’ सम्बन्धी व्यावसायिक प्रशिक्षण सञ्चालन गरिरहेका थिए। सूचनाका आधारमा पुगेको प्रहरी टोलीले होटलको सभा हलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार पक्राउ पर्नेमा सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी रहेका छन्। कार्यक्रममा नेपाली सहयोगी निरा राजभण्डारीसहित ३० जना सहभागी थिए। सहभागीमध्ये १६ वर्षमुनिका १२ जना किशोरी पनि रहेको प्रहरीले जनाएको छ।

नेपालको नियमअनुसार पर्यटक भिसामा आएका विदेशी नागरिकलाई व्यवसाय, शिक्षण वा प्रशिक्षणजस्ता गतिविधि सञ्चालन गर्न अनुमति हुँदैन। पक्राउ परेकाहरूले भिसाको उद्देश्य विपरीत काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी भइरहेको छ। अध्यागमन ऐनअनुसार भिसा नियम उल्लंघन गर्ने विदेशी नागरिकलाई जरिवाना तथा निष्कासनसम्मको कारबाही हुन सक्ने व्यवस्था छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७