लेबनानको बेरुतमा इजरायली आक्रमण : १२ जनाको मृत्यु, ४१ घाइते
काठमाडौं : लेबनानको राजधानी बेरुतको मध्यभागस्थित सहरको दक्षिणी उपनगरहरूमा भएका इजरायली आक्रमणहरूमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
उक्त आक्रमणहरू बास्ता र जुकाक अल–ब्लात टोलहरूमा भएको बताइएको छ । मध्य बशुरा जिल्लामा पनि प्रहार गरिएको थियो, जहाँ एउटा पूरै भवन ध्वस्त भएको छ । इजरायलले इरान समर्थित लडाकु समूह हिजबुल्लाहविरुद्धको आफ्नो आक्रमणलाई तीव्र बनाएका बेला यी हमलाहरू भएका हुन् । हिजबुल्लाहले रातभर उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि यी जवाफी कारबाहीहरू गरिएका थिए ।
गत हप्ता इजरायली आक्रमणको निसानामा परेको बशुरा क्षेत्रमा गएराति ठूलो विस्फोटको आवाज सुनिएको थियो । एउटा भवन भग्नावशेषको थुप्रोमा परिणत भएको छ । यो आक्रमण इजरायली सेनाको चेतावनीपछि भएको घटनास्थलमा रहेका समाचार एजेन्सी ‘डीपीए’का फोटोग्राफरले बताएका छन् ।
यसअघि सरकारी ‘नेसनल न्युज एजेन्सी’ले दिएको जानकारीअनुसार एउटा आक्रमणमा सेन्ट्रल जोकाक अल ब्लात टोलको एउटा अपार्टमेन्ट इजरायली निसानामा परेको छ । यही ठाउँमा गत हप्ता इजरायली सेनाले हिजबुल्लाहसँग जोडिएको वित्तीय संस्था ‘अल कार्ड अल हसन’को बेरुत शाखालाई निसाना बनाएको थियो ।
सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, अर्को एउटा आक्रमण सेन्ट्रल बासता डिस्ट्रिक्टमा पनि भएको छ । बासता क्षेत्रका प्रत्यक्षदर्शीहरूका अनुसार, त्यहाँ धेरै विस्फोटका आवाजहरू सुनिएका थिए ।
बुधबार आक्रमणको निसानामा परेका सबै क्षेत्रहरू लेबनान सरकारका भवनहरू वरपर रहेका तथा विशेष गरी अर्थ मन्त्रालय र प्रधानमन्त्रीको मुख्यालयनजिक रहेको बताइएको छ । मंगलबार राति हिजबुल्लाहले उत्तरी इजरायलमा दर्जनौँ रकेटहरू प्रहार गरेको थियो ।
.gif)

.png)

