छठ पर्वको धमाधम तयारी


२०८२ कार्तिक ६ बिहीबार १८:३१ बजे

महोत्तरी । तिहार पर्वको समापनसँगै बिहीबार (कात्तिक ७)देखि तराई मधेससहित देशका विभिन्न स्थानमा छठ पर्वको धमाधम तयारी सुरु गरिएको छ ।

मिथिलाको प्रमुख पर्वका रूपमा मानिने छठका निम्ति यहाँका पोखरी, नदी, तलाउहरूमा तयारी सुरु भएको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले जानकारी दिए ।

सूर्य भगवान् तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरूमा सरसफाइ, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर–८ का वडाध्यक्ष विजयकुमार सिंहले बताए ।

मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासीले यो पर्वलाई धूमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए ।

सूर्य तथा छठी माताको पूजाका निम्ति जलेश्वर–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, त्यहाँ पुग्नका निम्ति पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । ५०० मिटरसम्म गुफावाला पण्डाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।

जलेश्वर–१ स्थित वरुण सरोवरमा पनि छठ पर्वका निम्ति चारैतिर ठूलठूला पण्डाल, रंगीचंगी साजसज्जा भइरहेको वडाध्यक्ष अनिल झाले बताए ।

यस्तै, जिल्लाका मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायत स्थानका नदीमा छठ मनाउने चलन भएकाले त्यहाँ धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७