जनकपुरमा रेल र कार ठोक्किए

जनकपुरधाम । जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापाचोक नजिक रेलवे ट्रयाक क्रस गर्न खोज्दा रेलले कारलाई ठक्कर दिएको हो ।
महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गर्दा आइतबार बिहान ८ः३० बजे नेपाल रेल्वेको रेलले बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको कारलाई ठक्कर दिएको हो । कार क्षतिग्रस्त भए पनि घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
चालकले रेल नजिक आइरहेको थाहा नपाएर रेलवे ट्रयाक क्रस गर्न खोज्दा कारलाई रेलले ठक्कर दिएको हो। रेल आइरहेको कुनै संकेत वा सूचना सडक प्रयोगकर्तालाई नदिइएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
दुर्घटनास्थलको स्थानमा पनि कुनै गेट, बुम बेरियर वा आवाज दिने संयन्त्र नरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।