झडपपछि कैलाली कारागार तनावग्रस्त : जिल्ला सुरक्षा समितिको बैठक जारी
सुरक्षा अधिकारीलाई घटनास्थलमा प्रवेश नै दिइएन, कैदीबन्दीका आफन्त चिन्तामा

कैलाली । शुक्रबार राति एक जनाको मृत्यु र ४७ जना भन्दा बढी घाइते हुने गरी कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीबीचको झडपपछि कारागारको अवस्था तनावग्रस्त बनेको छ ।
कारागारमा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको बाक्लो उपस्थिति गराइएको छ भने घाइतेहरुको विवरण प्राप्त हुन सकेको छैन ।
कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको प्रारम्भिक विवरण प्राप्त भएकोमा गए रातिको झडपमा परी धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु कारागारभित्र प्रवेश गर्न सकेको छैनन् ।
प्रमुख जिल्ला अधिकारी गोगन हमालको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू घटनास्थलमा पुगे पनि कैदीबन्दीहरुले ताला लगाएर भित्र पस्न नदिएपछि टोली कारागार प्रशासनसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयमा फर्किएको छ ।
कारागार बाहिर कैदीबन्दीका आफन्तहरु चिन्तामा छन् । यतिबेला जिल्ला प्रशासन कार्यालयमा चारवटै सुरक्षा निकायका प्रमुखसहित जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए। सुरक्षा निकायका प्रमुखहरुले थप प्रतिक्रिया दिन मानेका छैनन् ।
रातिको झडपमा धनगढी उपमहानगरपालिका ४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको भने ४७ जना घाइतहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको उपचार र सुरक्षामा सुरक्षा निकायलाई हम्मेहम्मे भइरहेको छ ।
विहान उनीहरुलाई कोरोनाका बेला बनाइएको बेग्लै कक्षमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ । घाइतेहरुको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । यसअघि बिहीबार पनि कैदीबन्दीहरुबीच आपसमा झडप भएको थियो । त्यसक्रममा ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये पाँच जना उपचारपछि डिस्चार्ज भए पनि एक जना भने अहिले पनि उपचारकै अवस्थामा रहेको कारागारमा खरिदार रामप्रसाद चौधरीले बताए । कारागार प्रमुख बसन्त खत्री विदामा छन् । एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।