डि भिलियर्सले भने–नेपाल खतरनाक क्रिकेट टोली होे
‘भविष्यमा एनपीएल खेल्न सक्छु’

काठमाडौं । दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर एबी डिभिलियर्सले नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । नेपालले लामो यात्रा तय गरेर यहाँसम्म आएको उनले टिप्पणी गरेका छन् । हालै डिलियर्ससँग भारतीय युट्यूवर शुभांकर मिश्रले आफ्नो पोडकास्टमा कुराकानीका क्रममा डिभिलियर्स नेपाली क्रिकेटको तारिफ गरेका हुन् ।
कुराकानीका क्रममा मिश्रले गत टी २० विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेलको प्रसङ्ग निकाल्दै “नेपालले टी–२० विश्वकपमा साउथ अफ्रिकालाई झण्डैले हराएको थियो होइन ?’ भन्दै प्रश्न गरेका थिए । सो प्रश्नमा डिभिलियर्सले हाँस्दै भने–‘नेभर (बिल्कुलै होइन) । त्यसपछि उनले फेरि थपे, म जोक गर्दै थिएँ । उनीहरु वास्तवमा गज्जबको टिम हुन् जो लामो यात्रा तय गरेर आएका छन् ।
उनीहरू खतरनाक टिम हुन् ।’ त्यस्तै डिभिलियर्सले नेपाली टीम अझै बढी कन्सिस्टेन्ट हुनुपर्ने सुझाव दिएका छन् । यसका लागि नेपालले धेरै भन्दा धेरै क्रिकेट खेल्ने अवसर पाउनुपर्ने उनको भनाइ छ । ‘उनीहरूले धेरै मौकाहरू पाउनु पर्छ । तर, यस निम्ति अरु कोही उत्तरदायी छ । नेपाल र नेपाल जस्ता देशका खेलाडीहरूलाई बढी अवसर दिनका लागि क्रिकेटका आयोजकहरूले सोचुन्,’ उनले भने ।
त्यस्तै मिश्रले नेपाल क्रिकेट लिग खेल्दै हुनुहुन्छ भन्ने डिभिलियर्ससँग प्रश्न गरेका थिए । जसमा उनले आफूलाई नेपालबाट खेल्ने प्रस्ताव आएको तर व्यस्तताले नभ्याएको बताए । उनले भविष्यमा एनपीएल खेल्न सक्ने बताएका छन् ।