एमालेमा पदाधिकारी घटाउने प्रस्ताव, अध्यक्षसहित ११ जना मात्रै

काठमाडौं । सत्तारुढ नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी संख्या घटाउने प्रस्ताव अघि सारेको छ । आज (बिहीबार) को सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव अघि सारेका हुन् ।
पौडेललाई विधान मस्यौदा समिति तयारीको जिम्मा दिइएको छ । एमालेले भदौमा विधान अधिवेशन गर्ने जनाएको छ । ललितपुरको गोदावरीमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनले पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद थपेको हो । अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल छन् । त्यस्तै एमालेमा ६ जना उपाध्यक्ष छन् ।
उपाध्यक्षको संख्या पनि घटाएर तीनमा झार्ने प्रस्ताव सचिवालयमा बैठकमा पुगेको छ । अहिले रहेको तीन उपमहासचिवको संख्या घटाएर एकमा झारिने प्रस्ताव गरिएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । त्यस्तै सचिव संख्या ७ बाट झारेर ५ बनाइने प्रस्ताव अघि सारिएको छ ।
अहिले एमालेमा १९ पदाधिकारी रहेका छन् । अहिलेको प्रस्ताव पारित भए एमालेमा जम्मा ११ जना मात्र पदाधिकारी हुनेछन् । शुक्रबार बस्ने पोलिटब्युरो र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तावबारे थप छलफल हुनेछ । पदाधिकारी संख्या संकुचित गर्दा कतिपय नेताको व्यवस्थापनमा जटिलता हुने भन्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले असहमति प्रकट गरेका छन् ।
विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद र २ कार्यकालको व्यवस्था हटाइएको छ । यद्यपि, पूर्वव्यवस्था हटाउनुपर्ने आधार र तर्कको खोजी हुनुपर्ने कुरा उठेपछि छलफल लम्बिएको बैठकमा सहभागी एक नेताले बताए । १० औं सौराहा महाधिवेशनले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्याएको थियो । यो बीचमा मनोनीत भएका समेत गर्दा अझ बढेको छ ।