खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण


१५:०१ बजे

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ।वडा कार्यालयले यहाँ सुन्तला खेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताए । 

कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले रु दुई लाख विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उनको भनाइ छ ।  ‘किसानको आय वृद्धि र उत्पादन बढाउने उद्देश्यले व्यवस्थित योजनासहित अघि बढिरहेका छौँ’ वडाध्यक्ष राईले भने, ‘हामीले व्यावसायिक कृषिमा लाग्ने किसानलाई लक्षित गरेर कृषि पकेट क्षेत्र निर्धारण गरेका छौँ । सोही आधारमा बर्सेनि कृषिमा लगानी गरिरहेका छौँ ।’

वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारीमा बिरुवा खरिद गरिएको हो । मागको आधारमा पहिलो चरणमा यहाँका ३६ जना किसानलाई एक हजार छ सय वटा सुन्तलाको बिरुवा वितरण गरिएको छ । पकेट क्षेत्रका करिब डेढ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । वडाले व्यावसायिक कृषि विस्तारका लागि विभिन्न उपाय अवलम्बन गर्दै आएको जनाएको छ । 

विगत दुई वर्षमा मझौले, चोलन्ती, खावा भञ्ज्याङ र रमिते क्षेत्रमा किबी खेती प्रवद्र्धन गर्न करिब दुई हजार किबीका बिरुवा वितरण भइसकेको छ । सुन्तला र किबी खेतीलाई निरन्तरता दिँदै वडाले रोग नियन्त्रण औंजार, औषधि, तालिम, जडीबुटी (जस्तै चिराइतो, सुतवा) तथा  बीउ वितरण कार्यक्रमलाई समेत अघि सारेको जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७