विनयीखोलाको नयाँ पुलमा भोलिदेखि गाडी चल्ने


०७:४२ बजे

नवलपरासी । दुम्कीवासस्थित विनयी खोलामा निर्माण भएको नयाँ पुलबाट भोलि (बिहीबार) देखि यातायात सञ्चालन हुने भएको छ । आयोजना निर्देशनालय पूर्वी खण्डका इन्जिनियर ईश्वरबहादुर रिजालका अनुसार नयाँ पुलको भारवहन क्षमता बलियो देखिएकाले बिहीबार बिहान ११ बजेदेखि महेन्द्रराजमार्ग हुँदै सबै सवारी साधन ओहोरदोहोर गराइनेछ ।

गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि सो स्थानमा खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । त्यसपछि गत जेठ २४ गते पक्की पुलको अन्तिम भाग ढलान गरिएको थियो । पुलले आवश्यक लोड धान्न सक्ने भएपछि बिहीबारदेखि निरन्तर रूपमा यातायात सञ्चालन हुने भएको हो । सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालले २४५ मिटर लामो पुल भोलि बिहान ११ बजेदेखि सञ्चालन गरिने जानकारी दिए ।

७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथ समेत रहेको छ । यो पुल नबन्दा खोलामा डाइभर्सन बनाएर निकै जोखिमपूर्ण रुपमा सवारी साधानहरु वारपार गर्दै आएका थिए । गत पुस २६ गते एक भारतीय ट्रकले पुरानो फलामे पुल भाँचिएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो ।

बनाइएको डाइभर्सन पटकपटक खोलाले बगाउँदा पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएको थियो । घण्टौंसम्म कयौं किलोमिटर लामो सवारी जाम हुँदै आएको थियो । डाइभर्सनबाट जान नसक्ने साना सवारी साधनहरुले घुमाउरो सडकको प्रयोग गर्दै आएका थिए । अब पुल सञ्चालनमा आएपछि यात्रा सहज हुने सूचना अधिकारी खनालले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७