बीपी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ स्थित नार्केमा लेदोसहित खसेको पहिरोका कारण अवरुद्ध बीपी राजमार्गमा एकतर्फी यातायात खुलेको छ ।
वर्षापछि सडक माथिबाट खसेको लेदोको कारण बीपी राजमार्गको रोशी गाउँपालिका–९ नार्केमा सडक अवरुद्ध भएको थियो । सोमबार साँझ ५ बजेबाट अवरुद्ध भएको सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोली र सडक विभागको मेसिनको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् ।
सडक अवरुद्ध भएपछि तराईबाट आएका एम्बुलेन्स लगायत सवारी साधन रोकिएका थिए । सडक एक तर्फी खुलाएर एम्बुलेन्स र रोकिएका सवारीहरु पास गराएपछि सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । विशेष गरी बीपी राजमार्ग जोडिएका ग्रामिण सडकबाट बग्ने लेदोको कारण राजमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको छ । यसअघि पनि धुलिखेल ११ पात्लेखेतमा राजमार्ग अवरुद्ध भएको थियो ।