नाबालिग बलात्कार आरोपमा वाइसिएल इञ्चार्ज पक्राउ

दाङ । बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का रुकुम पश्चिम चौरजहारी इञ्चार्ज पक्राउ परेका छन् । रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्रीलाई प्रहरीले बिहीबार राति एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टले जानकारी दिए । क्षेत्री वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् ।
उनीमाथि जाजरकोटकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ । जो अहिले छोरीकी आमा समेत भइसकेकी छन् । १७ वर्षकी किशोरीले आफूमाथि क्षेत्रीले जबरजस्ती करणी गरेको भन्दै कार्यालयमा दुई महिनाअघि जाहेरी दिएकी थिइन् । मुलुकी अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीबिना वा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर भए पनि गरिएको करणीलाई जबरजस्ती करणी मानेको छ ।
ती किशोरीलाई नेता क्षेत्रीले २०७९ चैतमा चौरजहारीको एक होटलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन ्। त्यही घटनाबाट छोरी जन्मिएको भनेर पनि जाहेरीमा उल्लेख गरेको डिएसपी विष्टले बताए । क्षेत्रीले आफूलाई गर्भपतन समेत गराउन दबाब दिए पनि आफूले अस्वीकार गरेको बताएकी छन् । छोरीको जन्म भएपछि क्षेत्रीले नै सबै खर्चको व्यवस्थापन गर्ने आश्वासन दिएको र मुद्दा मामिलामा नजान समेत चेतावनी दिएको आरोप छ ।
यस घटनामा दुई महिनाअघि नै जाहेरी परे पनि क्षेत्री फरार थिए। बिहीबार भने गोप्य सूचनाको आधारमा प्रहरीको टोली होटलमा पुगेर उनलाई पक्राउ गरेको डिएसपी विष्टले बताए । क्षेत्रीले आफ्नो पहुँच रहेकाले सहजै उम्किने धम्की समेत दिएको आरोप छ । नगर खेलकुद विकास समिति चौरजहारीका अध्यक्ष समेत रहेका क्षेत्री प्रदेश र जिल्लास्तरका राजनीतिक तथा खेलकुद कार्यक्रमहरूमा अग्रस्थानमा रहने गर्थे । शुक्रबार अदालतबाट म्याद थपका लागि लैजाने तयारी प्रहरीको छ ।