सांसद मोदीको प्रश्न : अर्थमन्त्री देशको कि रुपन्देहीको मात्रै ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णु पौडेलमाथि पक्षपातपूर्ण बजेट वितरण गरेको आरोप लगाएका छन्। उनले अर्थमन्त्री देशको कि रुपन्देहीको मात्रै ? भन्दै प्रश्न गरेका छन्।
आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्र बजेटकेन्द्रित गरेको आरोप लगाए । उनले सहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजना अर्थमन्त्रीले आफ्नो जिल्ला केन्द्रित राखेको आरोप लगाए। ‘आज उहाँ (अर्थमन्त्री) संसदमा हुनु हुन्न । उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरिको अर्थमन्त्री हुनुहुन्छ ? अर्थमन्त्री ज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने सहरी विकास मन्त्रालयबाट झण्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन्’, उनले भने।
उनले अगाडि भने, ‘अरू मन्त्रालयबाट झन् के होला ? कर चाहिँ सबै जिल्लाबाट लिने तर बजेट चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ ?’ सांसद मोदीले बजेटको असमान वितरणले संघीयताको मर्मअनुरूप विकास गर्न नसकिने धारणा राखेका छन्।