रविको खुलासा : सन्दुक रुइतदेखि कुलमानसम्मले नमानेपछि आफै सभापति बने

‘ठूला ठगहरूले उल्टै मलाई ठग सावित गर्ने षड्यन्त्र गरिरहेका छन्’


२०८२ असार ७ शनिबार ११:५१ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई फसाउन जीबी राईमाथि पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएक बताएका छन् । भैरहवा कारागारमा रहेका लामिछानेले सार्वजनिक अपिलमार्फत आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको उल्लेख गरेका छन्।

‘चार जिल्ला, चार उच्च र पछि सर्वोच्चसम्म गरेर नौ–नौवटा अदालतमा (अब त पर्सा जिल्ला अदालत पनि थपियो) मुद्दा झुण्ड्याइएको व्यक्तिले कानुन व्यवसायीको राय नसुन्न पनि मिलेन,’ उनले भनेका छन्। जीबी मलेसियाबाट लाखौं डलर बोकेर फर्के पनि हिसाब फरफारक गर्न नपाओस् भन्ने षड्यन्त्र हुने उनको भनाइ छ। ‘यो देशमा सबै सहकारी पीडितले पैसा फिर्ता पाएछन् भने पनि जीबी राई सम्बद्ध सहकारीका बचतकर्ताले कहिल्यै पाउने छैनन्। सुरुमा जीबी राईलाई केवल सहकारी ठगीको मुद्दा थियो । त्यसका लागि मेलमिलापको ढोका समेत बन्द गर्ने कानुनी प्रपञ्च रचिसकिएको छ,’ लामिछानेले भनेका छन्।

स्वस्थ र प्रजातान्त्रिक विधिबाट रास्वपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि राजनीतिक दलहरु आफूविरुद्ध षड्यन्त्रमा लागेको पनि उनको आरोप छ। ‘सञ्चारकर्म छोडेर राजनीतिमा आउने निर्णय त गरें तर प्रवेश कसरी ? मसँग दुई विकल्प थिए,’ उनले भनेका छन्, ‘या त स्थापित पार्टीभित्रै छिरेर हस्तक्षेप गर्ने या नयाँ पार्टीको संरचना खडा गरेर स्थापितलाई घचघच्याउने।’

पार्टीको नेतृत्व गरिदिन विभिन्न विशिष्ट व्यक्तिको दैलोसम्म पुगे पनि धेरैले इन्कार गरेको लामिछानेले खुलासा गरेका छन्। ‘सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेसरी शाहसम्म यस्ता कैयौं व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हारगुहार गरेँ। कसैले विश्वास नगरेपछि मात्रै म आफैं सभापति भएर पार्टी दर्ता गरेको हुँ।’

यस्तै, एकाथरी आलोचकले सत्तालोलुपको आरोप लगाउने गरेको भन्दै उनले उल्लेख गरेका छन्, ‘म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो । हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो ।’ उनले भनेका छन्, ‘अवसर आयो, होइदिउँ न भनेको भए कसले रोक्थ्यो र ? प्रधानमन्त्री बनिदेउ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेको थियो कांग्रेसको मूल नेतृत्व, मैले मानिनँ । भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले। मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसैको दण्डस्वरूप आज थुना व्यहोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही ?’

लामिछानेले भनेका छन्, ‘वर्तमान व्यवस्था र संविधान मानेरै पुराना राजनीतिक दलभित्र रहेको विकृति विसंगति सम्बोधन गर्ने गरी हामीले नयाँ पार्टी बनायौँ । आज रास्वपा बिनाको प्रतिनिधिसभा कल्पना पनि गर्न सकिँदैन । जनताका होनहार छोराछोरीको संसदमा उपस्थिति, तिनको मेहनत र निष्ठाको राजनीतिलाई स्वीकार गर्न पनि यो देशका विद्वान विश्लेषकहरूलाई किन गाह्रो परेको हो, मैले बुझ्न सकेको छैन। देशको परिस्थितिलाई मूल्यांकन गर्दै लम्बेतान आर्टिकल लेख्न र विश्लेषण गर्न रवि लामिछानेलाई पनि नआउने होइन। तर, रवि लामिछानेले यस्ता विश्लेषणको प्रभाव देखिसकेको छ। मलाई यो देशको बेथितिको थप व्याख्या गर्नु छैन, बेथिति भत्काउनु छ । बेथितिका वाहकहरूलाई निवेदन दिएर वा अनुरोध गरेर यो देशमा थितिको शासन सुरू हुँदैन । यिनीहरूलाई लल्कारेर र धावा बोलेर मात्र थिति बसाल्न सकिन्छ। यिनीहरूलाई चुनौती दिएको मूल्य अहिले मैले तिरिरहेको छु । तर, म विचलित छैन। यो आँट र संकल्प भत्काउन यो देशको इतिहासका सबैभन्दा ठूला ठगहरूले उल्टै मलाई ठग सावित गर्ने षड्यन्त्र गरिरहेका छन्। तर, म अलिकति पनि हल्लिएको छैन।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७