विपक्षीहरुको विरोधका वावजुद बलवफ्ती सदन चलाउनु राम्रो होइन : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्ष दलहरूलाई विश्वासमा लिएर सदन सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन्। आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले सम्बन्धित पक्ष सबैको ध्यानाकर्षण गराएका हुन्। उनले सदन सञ्चालन गरेर निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटो अगाडि बढाउन आग्रह गरेका छन्।
‘सरकार र सभामुख ज्यूबाट रास्वपालगायत केही पार्टीका सांसदहरुको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफती सञ्चालन गर्ने कोशिस भइरहेको छ। यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन। सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। त्यस प्रकारले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु’ उनले लेखेका छन्।