कृषि अनुदानमा भ्रष्टाचार, सचिव सिंहसहित तीन जना दोषी ठहर


२१:४० बजे

काठमाडौं । मधेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। सोही मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका कार्यालय प्रमुख शंकरप्रसाद साह र एक करोड रुपैयाँ अनुदान लिएको युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक लक्ष्मीनारायण साह पनि दोषी ठहर भएका छन् ।

विशेषका अध्यक्ष टेकबहादुर कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको बिहीबारको इजलासबाट उनीहरू दोषी ठहर भएका हुन्। तीनैजनालाई एक–एक वर्ष कैद र २५–२५ लाख रुपैयाँ जरिवाना र सोहीबराबरको बिगो असुल उपर हुने फैसला भएको छ।

यहि मुद्दाका प्रतिवादी कर्मचारीहरू अमरचन्द्र मण्डल, ब्रजेशकुमार साह, रंजिकुमार अधिकारी, अविनाशकुमार झा र विकासकुमार साहले सफाइ पाएका छन्। एक करोड कृषि अनुदान वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा सिंहसहितका कर्मचारी र कृषि फर्मका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

नक्कली कागजातका आधारमा कार्यक्रम सम्झौता गरी अनुदानका नाममा एक करोड रुपैयाँ भुक्तानी गरेको अख्तियारको अभियोग थियो। इजलासले कृषि फार्मबाट २५ लाख जरिवाना असुल उपर गर्न तथा दोषी ठहर भएका तीनै जनाबाट थप एक–एक लाख रुपैयाँ जरिवाना असुल गरी पीडित राहत कोषमा जम्मा गर्न भनेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७